प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०८०
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त नकवजनी चोरी मुद्दामा कारागारमा रहेको पुष्टि
२०८०-०४-३०

काठमाण्डौ, २९ साउन        कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ ।        काठमाण्डौ महानगरपालिका-१४ बल्खु बोक्सीदह डाँडामा मकवानपुर मनहरा गाउँपालिका-३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा नारायणीको हत्यामा उनीसँगै ज्यामी काम गर्ने शिवराम अधिकारी संलग्न भएको खुल्न आएको तथा घटना पश्चात फरार रहेका अधिकारी र केन्द्रीय कारागार सुन्धारामा रहेका अर्जुन अधिकारी एउटै व्यक्ति रहेको पुष्टि हुन आएको हो । अधिकारी २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परी नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते ३ वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा उक्त कारागारमा रहेको खुल्न आएको छ ।         उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।  

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
२०८०-०४-३०

ललितपुर, २९ साउन        बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।        दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।          उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन लिखत सम्बन्धी कसूरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरको छ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ मा भएको फैसलाले कार्की समेत सफाई पाउने गरी फैसला भएकोमा उक्त मुद्दाको फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी शिक्षक पेशामा पुनर्वहालीको लागि उक्त फैसला कार्यान्वयन गरी पाउँ भनि सर्वोच्च अदालतमा पेस गरेकोमा उक्त फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी लिखत सम्बन्धी कसूर गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाण्डौबाट ७ दिन म्याद थप गरी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका-१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका-१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले आफ्नो नाममा रहेको बिभिन्न बैंकहरुको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बिभिन्न ब्यक्तिहरुलाई भुक्तानी दिनुपर्ने रकमको बैंक चेक दिएको तर पीडितहरुको रकम फिर्ता नगरी फरार रहेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनी उपर काठमाण्डौ उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूरमा १९ वटा, ठगीमा १ र केही सार्वजनिक अपराध कसूरमा १ वटा गरी जम्मा २१ वटा कसूरमा मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनी उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाण्डौ बाट ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाण्डौबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली जस्तो देखिने ५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी, झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् । उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाण्डौतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३  रूपैयाँ फेला परेको थियो । उक्त बसका चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो काठमाण्डौ लगिदिनु काठमाण्डौ बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएपछि प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।  अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२-०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ । 

सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             सामाजिक संजालबाट ठगी गरेको अभियोगमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             सामाजिक संजाल Tiktok र  WhatsApp मार्फत कुराकानी गर्ने क्रममा आफूलाई U.K. को नागरिक भन्दै पीडितलाई विभिन्न Gift  पठाएको भनी प्रलोभनमा पारी custom Charge  बापतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न कमला देवी श्रेष्ठलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा जिल्ला गोरखा गण्डकी गाउँपालिका-६ घर भई काठमाण्डौ महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर,जिल्ला सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाण्डौ महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र जिल्ला धादिङ थाक्रे गाउँपालिका-४ घर भई काठमाण्डौ कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।              उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।              साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाण्डौ नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाण्डौ टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।              उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

पहिरोका कारण विभिन्न १० स्थानमा सडक अवरोध
२०८०-०४-२३

काठमाडौं, २३ साउन              गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ ।             पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ तथा भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौंडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड, चितवन ईच्छाकामना गाउँपालिका-६ नारायणगढ-मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साईड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका-९ नार्के लगायत बिपि राजमार्गको विभिन्न स्थान, सिन्धुली सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बिपि राजमार्ग र बागलुङ, बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध भएको हो । पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  

अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन             त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो ।              यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।  

डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो । उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन             चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।   

सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
२०८०-०४-१८

काठमाण्डौ, १८ साउन        काठमाण्डौ उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाण्डौ जोरपाटीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाण्डौ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाण्डौ कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाण्डौ गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् । सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।        उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाण्डौमा पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८०-०४-१८

काठमाण्डौ, १८ साउन        काठमाण्डौ, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।           ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने  २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले  पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुहुँदै
२०८०-०४-१८

काठमाण्डौ, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन ०९ गतेको निर्णयले प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट  प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका राम बहादुर महतरा क्षेत्री तथा विभिन्न मितिमा भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०/०४/१७ गतेको पत्रादेशानुसार प्रहरी नायव निरीक्षकबाट  प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका  प्रहरी कर्मचारीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका १ जना, प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका २८ जना गरी कुल २९ जना प्रहरी अधिकृतहरू रहनु भएको छ । सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी वरिष्‍ठ नायव निरीक्षक निरू सुवेदीले पदोन्नतिबाट प्राप्‍त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही  प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्‍ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई काठमाण्डौ महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।           गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डौ लाजिम्पाटबाट पक्राउ गरेको हो ।              उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई शनिबार  राति प्रहरीले पक्राउ गरेको छ ।        बैंकिङ कसूर र ठगी सम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भक्तपुर दुवाकोटबाट पक्राउ गरेको हो ।           उनलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

विभिन्न स्थानमा धनमाल चोरी
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        काठमाण्डौ महानगरपालिका-१६ माछापोखरी बसन्तनगर डेरा गरी बस्ने काभ्रे नवबुद्ध दरैलीपोखरी नगरपालिका-७ घर भएकी २२ वर्षीया शिवानी रूम्बा श्रेष्ठको कोठाबाट ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख २७ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।          ललितपुर, महालक्ष्मी नगरपालिका-५ खड्का गाउँ डेरा गरी बस्ने काभ्रे तेमाल घर भएका २८ वर्षीय रंजित तामाङ समेत ३ जनाको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।          प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०४-११

काठमाण्डौ, ११ साउन               काठमाण्डौ महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाण्डौ बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।             उनीहरूलाई बरामद वस्तुसहित थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाण्डौमा पठाइएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-११

काठमाण्डौ, ११ साउन               वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्य विनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-५ घर भई काठमाण्डौ महानगरपालिका-३२ कोटेश्‍वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।             उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।              साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाण्डौ जोरपाटी नारायणटारबाट मंगलबार तथा  मग्रातीलाई काठमाण्डौ काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।              उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        विश्व खाद्य कार्यक्रम (WFP)को नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका-९ घर भई काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका-५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् ।                बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय संचालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि   जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो ।           उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजरी रजिष्टर १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत प्रहरीले बरामद गरेको छ ।            उनीहरु उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

मेट्रो ट्राफिक एफएमको ११औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको ११औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।        काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले विज्ञापन दाताहरू र सूचना दाताहरूलाई कदरपत्र एवम् एफएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।        उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले जनसंख्या र सवारी साधनको वृद्धिले ट्राफिक व्यवस्थापन र अपराधिक गतिविधि दिन प्रतिदिन नयाँनयाँ ढंगबाट बढ्दै गइरहेको र समय अनुरुप चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थामा मेट्रो ट्राफिक एफएमले प्रसारण गर्ने सूचना तथा कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण तथा अपराध रहित समाजको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । सडक प्रयोग गर्ने सही तरिकाको बारेमा ट्राफिक जनचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथै सडक पुन:निर्माण, जोखिम न्यूनीकरण तथा अपराध विरूद्ध जनचेतना जागृत गर्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक ई.विशाल ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेट्रो ट्राफिक एफएमको गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा विज्ञापन दाताहरूमध्ये जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका प्रमुख डा.अर्चना श्रेष्ठ र सहकारी विभागका शाखा अधिकृत प्रेम राज लुइटेलले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।        कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय-प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।        विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट बंगलादेश जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।          उनलाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन             प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाण्डौ नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ कोटेश्वरबाट पक्राउ गरेको हो ।             उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ । 

लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन             लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाण्डौ महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाण्डौ कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।             उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा सामुदायिक प्रहरी कर्मचारीहरूलाई व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान
२०८०-०४-०३

काठमाण्डौ, ३  साउन        संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो उपत्यका प्रहरी कार्यालय मातहतका ८३ जना सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।           कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले ‘सुरक्षित उपत्यका: हाम्रो प्रतिवद्धता’ अभियानलाई कार्यान्वयन गर्ने प्रयोजनार्थ दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रत्येक दिन पिक आवर समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन गरेको बताउनुहुँदै समुदायमा अपराध न्यूनीकरणको लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरी आपराधिक क्रियाकलापहरुको सूचना सङ्कलन गर्न निर्देशन दिनुभयो ।  

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा बागमती नदी करिडोरमा सि.सि.टि.भी. जडान गर्न सम्बन्धमा छलफल
२०८०-०४-०३

काठमाण्डौ, ३  साउन           संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले बागमती नदी करिडोरको गोकर्णदेखि बल्खुसम्मको सडकक्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रणको उद्देश्यले प्रविधमैत्री प्रहरी कार्यको लागि सि.सि.टि.भी. क्यामेरा जडान गर्न बागमती सभ्यता एकीकृत विकास समिति र एसियाली विकास बैंकको Nepal Residence Mission (NRM) प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ  । 

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन
२०८०-०४-०२

काठमाण्डौ, २ साउन             काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।      तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा  विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको वताउनुभयो ।        छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले  शिक्षकहरूमा आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुने बताउनु हुँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) ले  नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गर्नु भयो ।        कार्यक्रममा  विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको रहेको थियो । 

अवैध रूपमा लैजाने लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०४-०२

काठमाण्डौ, २ साउन नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौबाट दुबई जान लागेका लेबनानी नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको
२०८०-०४-०२

काठमाण्डौ, २ साउन                 संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०२ गते मंगलबार दिउँसो उपत्यका प्रहरी कार्यालय र मातहत ४७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक/प्रहरी नायव निरीक्षक (सुवेदार मेजर) हरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।           कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले सुवेदार मेजर कर्मचारीलाई मातहतको गुनासो समयमै सम्बोधन गर्नुका साथै गुनासो सम्बोधनको निम्ती पुलको रुपमा काम गर्न निर्देशन दिनुभयो । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन
२०८०-०४-०२

काठमाण्डौ, २ साउन             काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।      तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा  विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको वताउनुभयो ।        छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले  शिक्षकहरूमा आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुने बताउनु हुँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) ले  नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गर्नु भयो ।        कार्यक्रममा  विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको रहेको थियो । 

खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८०-०४-०१

काठमाण्डौ, १ साउन             चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।             प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्र.०२-००१ ख ५५४९ नम्बरको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ
२०८०-०४-०१

काठमाण्डौ, ३१ असार            त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<